संक्रमितको घर-घरमा पुग्यो “कोभिड वारियर्स” टिम
वीरगञ्ज, २३ असोज । गएको एक महिनादेखि कोभिड संक्रमितलाई घरैमा पुगेर आवश्यक परामर्श दिँदै आएको “कोभिड वारियर्स” ले शुक्रबार पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा रहेका संक्रमितलाई भेट गरेको छ ।

कोभिड संक्रमण जितेर आएकाहरुको समूह ‘कोभिड वारियर्स’ले घरघरमा गएर होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई हौसला दिने अभियानलाई निरन्तरता दिइरहेको हो ।
वारियर्सले शुक्रबार वीरगञ्ज वडा नम्बर ११ का २ जना संक्रमितको घरैमा पुगेर उनीहरुलाई आवश्यक परामर्शका साथै छिमेकीलाई पनि संक्रमितलाई दूव्र्यवहार नभई मायाँ गर्न आग्रह गरे ।
वडा नम्बर ११ का वडाध्यक्ष प्रधुम्न सेढाईँ र प्रहरीसहित होम आइसोलेशनमा बसेका संक्रमितको घरैमा पुगेको टोलीले संक्रमितको स्वास्थ्यअवस्थाका बारेमा पनि जानकारी लिएको थियो ।
वडाध्यक्ष सेढाईँले कुनै समस्या भए निर्धक्कसँग आफूलाई भन्न पनि संक्रमित तथा उनका परिवारलाई आग्रह गरेका थिए ।
कोभिड संक्रमितलाई समाजले गर्ने दुव्र्यवहारले संक्रमित झनै तनावमा पर्ने हुँदा उनीहरुलाई सहयोग र सम्मान गर्न वारियर्सका हेमन्त तामाङले सुझाव दिए । अभियान टोलीमा संक्रमितको घरमा पुगेका अभियन्ता आशु सर्राफले सबैको साथबाट मात्रै सामाजिक सोच परिवर्तन ल्याउन सकिने बताए ।
वारियर्सका संयोजक नवराज फुयालको नेतृत्वमा संक्रमितको घरघरमा पुगेको टोलीमा पूर्व संक्रमित आशिष गुप्ता, सौरभ श्रेष्ठ, आकाश कुमार, समाजवादी विद्यार्थी युनियनका नेता शशिकान्त सर्राफ लगायतको सहभागिता रहेको थियो ।
