नारायणी अस्पताललाई पुनःकोभिड अस्पताल बनाउने निर्णय
वीरगंज, १७ साउन । वीरगंज स्थित नारायणी अस्पताललाई पुनःकोभिड अस्पताल बनाउने निर्णय संघीय सरकारले गरेको छ ।

नारायणीलाई पुनःकोभिड अस्पतालमा परिणत गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्र शुक्रबार प्राप्त भएको अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले पुष्टि गरे ।
उनले पत्रमा उल्लेख भए अनुसार नारायणी अस्पताललाई कोभिड २ लेभल अस्पताल बनाउने निर्देशिका बमोजिम तयारी गरिने बताए ।
यसअघि, मन्त्रालयले पाँच दिन पहिले नै अस्पतालको डायलिसिस लगायतको सेवा बन्द गर्न भन्दै पत्र पठाएको थियो । यससँगै नारायणीमा हुदैं आएको डायलिसिस लगायतको सेवा फेरि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्थानान्तरण गरिने भएको छ ।
यसअघि पनि नारायणी अस्पतालालाई कोरोना अस्पताल सम्पूर्ण जेनरल सेवा बन्द हुदाँ सर्वसाधारण सेवाग्राही मारमा परेका थिए । जनस्तरबाट व्यापक बिरोध भएपछि सरकारले त्यतिबेला अस्पतालमा रहेका संक्रमितहरु डिस्चार्ज भएपछि जनरल सेवा सूचारु गर्न लगाएको थियो । साभार: नेपाल पोष्ट डेली ।
